बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र
विश्वमा नै दुर्लभ मानिएको पाटेबाघको बासस्थान संरक्षण तथा व्यवस्थापन गर्ने प्रमुख लक्ष्यका साथ स्थापित बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफल 550 वर्ग किलोमिटर छ भने 343 वर्ग किलोमिटर मध्यवर्ती क्षेत्र रहेको छ । यहाँ 8 प्रकारका पारिस्थितिकीय प्रणाली, 124 प्रकारका वनस्पति प्रजाति, 32 प्रजातिका स्तनधारी, 300 भन्दा बढी प्रकारका चराको प्रजाति, 58 प्रजातिका माछाहरु, 22 प्रकारका सरीसृप तथा 6 प्रकारका उभयचरहरु, पाइन्छन् भने 11 प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारीहरू र 50 प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चराहरू पाइन्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र
बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको तराई क्षेत्रमा रहेका संरक्षित क्षेत्रहरु मध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो निकुञ्ज हो । यस निकुञ्जको जम्मा क्षेत्रफल 1475 वर्ग कि.मी मध्ये 507 वर्ग कि.मी. मध्यवर्ती क्षेत्रमा पर्दछ । यस निकुञ्जको कर्णाली नदी तटीय क्षेत्र र बबई उपत्यका जैविक विविधता र वन्यजन्तुका लागि महत्वपूर्ण क्षेत्र रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज पर्यापर्यटनको लागि एउटा उत्कृष्ट गन्तव्य रहेको छ । यस निकुञ्जमा पाटे बाघ, एकसिंगे गैंडा, हात्ती, डल्फिन, चौका, मृग प्रजातिका वन्यजन्तु र संरक्षित घस्रने जीवहरु पाइन्छन् । यो निकुञ्ज खाता जैविक मार्ग तथा संरक्षित वन हुँदै भारतको कतरनियाघाट वन्यजन्तु आरक्षसँग जोडिएको छ ।

कम्दि जैविक मार्ग : कम्दि जैविक मार्ग उत्तरमा बाँके राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रसँग जोडिएर भारतको सोहेलवा वन्यजन्तु आरक्षसँग जोडिएको एउटा महत्वपूर्ण जैविक मार्ग हो । उत्तर र दक्षिणमा रहेका निकुञ्जहरुका वन्यजन्तुहरु यसै जैविक मार्ग हुँदै ओहोरदोहोर गर्ने गर्दछन् । यस जैविक मार्गको क्षेत्रफल 450 वर्ग कि.मि. रहेको छ ।

कर्णाली जैविक मार्ग : कर्णाली जैविक मार्गले नेपालको चुरे क्षेत्र तथा बर्दिया राष्ट्रिय निकुन्जलाइ कर्णाली नदीको नदी तटीय क्षेत्र मार्फत भारतको कतरनियाघाट वन्यजन्तु आरक्षसंग जोड्दछ ।

ब्रम्हदेव जैविक मार्ग : यो जैविक मार्ग उत्तरी क्षेत्रमा रहेको चुरेको वन क्षेत्र र दक्षिणमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रलाई जोड्ने महत्वपूर्ण जैविक मार्ग हो । यो जैविक मार्ग उत्तरमा डडेल्धुरादेखि चुरे क्षेत्रको वनको प्रतिनिधित्व गर्दै दक्षिणमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रसँग जोडिएको छ । यस जैविक मार्गको क्षेत्रफल 148 वर्ग किमि रहेको छ ।

null