आयोजनाले सम्बन्धित सरोकारवालाहरुसँग कार्य गर्दा निम्न वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धी प्रावधानहरु पालना गरेको छ ।

आदिबासी जनजातिः यस आयोजनाले आयोजनाका कार्यक्षेत्रमा रहेका संरक्षित क्षेत्रहरुको वरपर तथा मध्यवर्ती क्षेत्र र जैविक मार्गहरुमा बस्ने आदिवासी जनजातिहरु तथा स्थानीय बासिन्दाको प्राकृतिक श्रोतमाथिको पहूँचलाई महत्व दिएको छ । आयोजनाको स्वीकृत आदिवासी समूदाय योजना ढाँचा र प्रक्रियागत ढाँचा द्वारा आयोजनाका कार्यहरु निर्देशित छन् । जसबाट आदिवासी जनजाति तथा स्थानीय बासिन्दाकोे प्राकृतिक श्रोतमाथिको पहूँच सुरक्षित गर्दै संरक्षणमा सहभागीता बढाइनेछ ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरण : विकासका श्रोत तथा लाभमा महिला तथा पुरुषको समान पहुँच र विकास प्रक्रियाका निर्णय तहमा समान अधिकार सुनिश्चित गर्न यस आयोजना प्रतिबद्ध छ । यस आयोजनाको नीति तथा कार्यक्रमले लैंगिक समानता र सामाजिक समावेशीतालाई मूल प्रवाहीकरण गर्न सहयोग पुर्याउने छ साथै प्राकृतिक श्रोतको सहभागितामुलक व्यवस्थापनबाट प्राप्त हुने लाभलाई समतामूलक बाँडफाँडमा जोड दिइनेछ ।

वातावरण तथा सामाजिक सुरक्षाका एकीकृत नीति तथा प्रक्रियाहरु : आयोजनाका क्रियाकलापहरु कार्यान्वयनको चरणमा पर्न सक्ने सम्भावित प्रतिकुल वातावरणीय र सामाजिक प्रभावहरुलाई न्यूनीकरण गर्न वातावरण तथा सामाजिक सुरक्षाका एकीकृत नीति तथा प्रक्रियाहरु अवलम्वन गरिनेछ ।